जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार ०७:२२

सिन्धुपाल्चोकमा फेरी बाढी, हेलम्बु–१ बेमाथाङबाटै बाढी आएको अनुमान


काठमाडौं, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको छ । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सारिएको छ ।

रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताउनुभयो । राति आएको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो । खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उहाँले बताउनुभएको थियो ।

यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीयवासी हस्त पण्डितले जानकारी दिनुभएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका–१ वेमाथाङ चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ । यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।