जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १६:०३

मन्त्री माग्दै देउवा निवास पुगे माधवका पाँच सांसद


काठमाडौं, साउन १७ । एमाले बरिष्ठ नेता’ माधवकुमार नेपाल निकट पाँच जना सांसद मन्त्री माग्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवासमा पुगेको तथ्य खुलेको छ । प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने २२ जनामध्येका ५ साँसद मन्त्री माग्दै देउवा र प्रचण्ड निवासमा आइपुगको माओवादी अध्यक्ष प्रचण्डले नै खुलासा गर्नुभएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउने कामको नेतृत्व गर्नुभएका नेपालले सरकारमा जानेबारे निर्णय नगरेपछि सांसदहरु हामीले भोट दिएका हौं, मन्त्री बनाउनु पर्यो भन्दै प्रधानमन्त्री निवास पुगेको प्रचण्डको भनाई छ । देउवालाई माधवसहित २२ जना एमाले सांसदले फ्लोर क्रस गरेर मतदात गर्नुभएको थियो । तर मन्त्री पठाउने बिषयमा माधव दवावमा परेपछि आफै देउवा र प्रचण्ड निवासमा पुगेका हुन । स्रोतका अनुसार यसरी मन्त्री माग्दै जानेमा मेटमणि चौधरी, किसान श्रेष्ठ, प्रेम आले, बिरोध खतिवडालगायतका रहनुभएको छ । उहाँहरुले माधवलाई समेत सरकारमा जानैपर्ने दवाव दिइरहनु भएको छ ।

सरकारमा जाँदा धेरै ठूलो मुल्य चुकाउनु पर्ने धम्की उपाध्यक्ष भीम रावलसहितका कार्यदलका नेताहरुले दिएपछि माधव मन देउवा सरकारतिर भएपनि निर्णय लिन सकिरहनु भएको छैन । यही कारण अव कहिल्यै मन्त्री बन्न नपाइने भइयो भन्दै सांसदहरु देउवा र प्रचण्डको ढोका चहार्न थालेका हुन । माधवले २२ सांसदको भेलामा एमाले विभाजन नभइ सरकारमा जाँदा सांसद पद जाने भन्दै व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान सुझाउनु भएको थियो । सोही भनाईका आधारमा ती सांसद देउवा–प्रचण्डको दैलो चहार्न पुगेका हुन ।

माओवादी अध्यक्ष प्रचण्डले आज बसेको पार्टी स्थायी कमिटी बैठकमा दिनुभएको जानकारीअनुसार माधव नेपाल पक्षका पाँच सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी हुने चाहना व्यक्त गरेका छन । ‘माधवजी तनावमा पर्नुभएको छ, तत्कालै सरकारमा जाने अवस्थामा रहेको स्थिति होइन, तर माधवजीतिरकै सांसदहरू भने व्यक्तिगतरूपमा मन्त्री बन्न खोजिरहेका छन,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भने ।

प्रचण्डले बैठकमा सुनाउनु भएअनुसार एमालेका चार–पाँच जना सांसदले प्रधानमन्त्री देउवालाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेका छन । तर प्रधानमन्त्री देउवाले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काइ दिनुभएको छ ।