जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १९:३७

माओवादी बैठकमा माधवकै चर्चा, प्रचण्डले गरे नयाँ खुलासा


काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाललाई एमालेबाट बाहिर ल्याउने काम निकै कठिन बनेको भन्दै निरासा प्रकट गर्नुभएको छ । जति गर्दा पनि माधवलाई मनाउन नसकिएको भन्दै प्रचण्डले स्थायी कमिटी बैठकमा निरासा ब्यक्त गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाललाई तत्कालै एमाले छाडेर देउवा सरकारमा सहभागी गराउनका लागि मनाउन नसकिएको जानकारी दिनुभएको एक नेताले जनताटाइम्सलाई बताए । ती नेताका अनुसार प्रचण्डले एमाले एकताको कुरा चलिरहेकाले माधव नेपाल तत्काल एमालेबाट अलग हुने र सरकारमा आउने सम्भावना नरहेको बिफ्रिङ गर्नुभएको हो ।

राजनीतिक र कानुनी रुपमा माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले सत्ता गठबन्धनले सघाउनुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाई थियो । माधव समुह सरकारमा पनि आउन नसक्ने र पार्टीमा मिल्न पनि नसक्ने अवस्थामा रहेको भन्दै प्रचण्डले माधवको रेस्क्यू गर्नुपर्ने अवस्था आएको जानकारी बैठकमा गराउनु भएको छ । ‘माधवजीको समूह सरकारमा आउने सम्भावना पनि छैन, परिस्थिति अहिले अलिकति फेरिएको छ, माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ, यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो,’ बैठकमा अध्यक्ष प्रचण्डको भनाइ उदृद गर्दै एक नेताले भने ।

माधव गुट सरकारमा आउँदा कसरी मन्त्रालय भागबण्डा गर्ने भनेर गृहकार्य गरेको तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने देखिएको प्रचण्डको भनाइ छ । यस विषयमा प्रचण्डले आज पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो । उहाँले आज बिहानै माधवसँग पनि भेटवार्ता गर्नुभएको थियो । यसअघि बसेको स्थायी कमिटी बैठकमा भने प्रचण्डले माधव गुट सरकारमा सहभागी हुने बताउनु भएको थियो ।