काठमाडौं, साउन १७ । आइतबार बिहान साढे ११ बजे वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगे ।
स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय जनाको टोली भत्ता माग्न पुगेको थियो । अफिस समयमा भएकाले डाक्टर र नर्स सेतो एप्रोनमै भत्ता माग्न पुगेका थिए । उनीहरूले अस्पतालका प्रमुख डा.जागेश्वर गौतमलाई मिटिङ हलमा बोलाए । डा. गौतम हलमा प्रवेश गर्नुभयो । अनि
‘हाम्रो भत्ता खोइ ? कहिले आउँछ ?,’ स्वास्थ्यकर्मी र कर्मचारीले प्रमुखलाई प्रश्न गरे ।
‘किन कराएको ? बोल्न सक्दिनँ । दिन्न के गर्नुहुन्छ ?,’ अस्पतालका प्रमुख डा. गौतम जंगिएर बोल्नुभयो ।
भत्ताको आसमा गएका स्वास्थ्यकर्मीले प्रमुखबाट टर्रो जवाफ पाएपछि आक्रोशित भए । ‘भोको पेटमा काम गर्नुपरेपछि स्वास्थ्यकर्मी कर्मचारी कराउनु स्वाभाविक हो,’ नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भन्नुभयो , ‘प्रमुखको जवाफले कर्माचारी आक्रोशित भए ।’
हलमा कोलाहल मच्चियो । प्रमुख डा. गौतम हलबाट बाहिरिन खोज्नुभयो तर कर्मचारीहरूले ढोका बन्द गरेर उहाँलाई भित्रै थुने । ‘तपाईँ जान पाउनु हुन्न । बसेर निष्कर्ष निकाल्नुहोस् भनेर ढोकाको चुकुल लगाएका हौँ,’ अध्यक्ष आचार्यले भन्नभयो ।
त्यसपछि डा. गौतमले प्रहरी प्रशासनलाई बोलाउनुभयो। अस्पतालभित्र प्रहरी पस्यो । ‘ढोका फुटाएर प्रहरीको टोली हलभित्र पस्यो । स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज र लात बर्सायो,’ उहाँले भन्नुभयो, तोडफोड भयो । कुर्सी भाँचिए । चार जना नर्स घाइते भए । नर्समाथि लाठी र लात प्रहार भयो ।’

अस्पतालका नर्सिङ अधिकृत गंगा दाहालको हातमा चोट लागेको छ । घाइते भएकी गंगा भन्नुहुन्छ, ‘प्रहरीको लाठी र लातबाट हातमा चोट लागेको छ । प्रहरीले लछारपछार गरेपछि ज्वरो आएको छ ।’
आन्दोलित स्वास्थ्यकर्मी र कर्मचारीहरूले गत मंसिरदेखि भत्ता नपाएको दुखेसो गरेका छन् । ‘१६ सय स्वास्थ्यकर्मी र कर्मचारीले भत्ता पाएका छैनन् । महामारीमा कसरी काम गर्ने ?,’ आचार्य प्रश्न गर्छन् । कोभिड महामारीमा फ्रन्टलानमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई हौसला दिनुको सट्टा प्रहरीको लाठी र लात प्रहार भएको गुनासो उनीहरूको छ । प्रमुख प्रशासकीय अधिकृत डा. गौतम अस्पतालबाट फिर्ता हुनुपर्ने माग आन्दोलित स्वास्थ्यकर्मी र कर्मचारीको छ ।
‘आफ्ना कर्मचारीलाई कुटाइ खुवाउने, हातपात गराउने हाकिम हुन सक्दैन । डा. जागेश्वर फिर्ता नभएसम्म छोड्दैनौँ,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘त्यस्ता प्रमुखले कर्मचारीको न्याय गर्न सक्दैनन् । फिर्ता नभएसम्म धर्नामा बस्छौँ ।’
प्रमुख प्रशासकीय अधिकृत डा. गौतमले आफूले प्रहरी बोलाएर कुटपिट गर्न नलगाएको दावी गर्नुहुन्छ । ‘प्रहरी मैले बोलाएको होइन । अस्पतालको लोकल प्रहरीले बोलाएको हो । कर्मचारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी प्रहार गरेको हो । कर्मचारीले कुर्सी उठाएर हान्न खोज्दा डीएसपी घाइते हुनुभएको छ । पहिला कर्मचारीले सुरु गरेको हो,’ उहाँले भन्नुभयो । कर्मचारीको भत्ता अहिलेको नभएर पुरानो समस्या रहेको बताउँदै उहाँले आफू आएपछिको भत्ता नरोकिएको बताउनुभयो ।
‘१० महिनादेखिको भत्ता ५० प्रतिशत कर्मचारीले पाएका छैनन् । पहिलाको व्यवस्थापनले नमिलाएको हो । म गएको दुई महिना भयो । म गएपछिको दिन्छु । मेरो बेलाको समस्या होइन,’ उहाँले भन्नुभयो , ‘सात आठ महिना काम गर्न दिए पुरानो पनि उपलब्ध गराउन सक्छु । अहिले कोभिडले कमाइ छैन । सरकारले दिने होइन । कहाँबाट ल्याउनु ?’
कोभिडका बिरामीको उपचार गर्न वीर अस्पताललाई ‘कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाइएको थियो । सरकारले गत ६ जेठमा ल्याएको अध्यादेशले वीर अस्पताललाई केन्द्रीय युनिफाइड अस्पताल बनाइएको हो । युनिफाइड अस्पताल बनाएपछि अस्पताल सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइयो ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वर गौतमलाई १० जेठमा नियुक्त गरेको थियो । डा। गौतम प्रमुख भएर अस्पताल गएदेखि नै विवादमा तानिदै आउनुभएको छ । कोभिडविरुद्ध लड्नुपर्ने ‘युनिफाइड केन्द्रीय अस्पताल वीर’ कहिले नेतृत्व त कहिले भत्ताका लागि लड्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्