जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १८:३८

एमालेका केन्द्रीय विभागहरूमा मनोनयन, पार्टीलाई नयाँ गतिसाथ अघि बढाउने निर्णय


काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीलाई नयाँ गतिसाथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको जनाकारीअनुसार बैठकले ९ वटा केन्द्रीय विभाग गठन गरेको छ । प्रवक्ता ज्ञवालीले केही सदस्य पछि थप्नेगरी ९ वटा विभाग गठन गरिएको बताउनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी स्कूल विभाग र विष्णु पौडेलकको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ । यसैगरी भानुभक्त ढकालको संयोजकत्वमा पर्यटन विभाग, अग्नी खरेलको संयोजकत्वमा निर्वाचन विभाग विभाग गठन गरिएको छ । पार्टी नियमावली अनुसार २५ सदस्यीय विभाग गठन गर्न सकिने भएकाले अहिले केही सदस्य समेटेर विभागहरु गठन गरिएको उहाँले बताउनुभयो ।

बाँकी विभाग र विभागमा सदस्य थप्ने काम क्रमश जारी रहने ज्ञवालीले बताउनु भयो । विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । यस्तै विधान कस्तो बनाउने भन्नेबारे २२ गते अनौपचारिक छलफल राखिएको पनि उहाँले जानकारी दिनुभयो ।