जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार २०:०४

रघु पन्तले गरे ओली-माधव भेटबार्ताको खुलासा



काठमाडौं । एमाले ‘बरिष्ठ नेता’ माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि तयार हुनुभएको छ । सर्वाेच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई बैधानिक भन्दै कर्णाली प्रदेशका आफू निकट चार सांसदको पद खारेज गरिदिएपछि माधव अध्यक्ष ओलीसँग भेटका लागि तयार हुनुभएको हो ।

माधव निकट स्थायी कमिटी र सांसदहरुको बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले माधव नेपाल अध्यक्ष ओलीसँग भेटका लागि तयार भएको जानकारी दिनुभएको छ । माधव समुहको आजको बैठकमा अधिकांश नेताहरु एकताकै पक्षमा दृढतापुर्वक उभिएपछि अध्यक्षसँग बार्ताका लागि माधव तयार हुनुभएको हो । नेता पन्तले पनि अव आफूहरुको लाइन एकताकै पक्षमा रहेकोले दुई नेताबीच भेटबार्ता हुने बताउनु भयो । पन्तका अनुसार अध्यक्ष ओली र माधवबीच छिट्टै भेटघाट र कुराकानी हुने छ ।

‘उहाँहरुको भेटघाट छिट्टै हुन्छ, तर मिति नसोध्नुस । भेटघाट हुँदैछ भन्ने बुझेको छु,’ माधव समुहको बैठकपछि पन्तले सञ्चारकर्मीसँग भन्नुभयो । उहाँले आफूहरुले छुट्टिने कुरा कहिले पनि नगरेको भन्दै पार्टीलाई बलियो र एकतावद्ध बनाउने प्रयास जारी राख्ने बताउनु भयो । आजको माधव पक्षीय संसदहरुको बैठकले पार्टी एकताको वातावरण बिगार्ने गरी दुवै पक्षबाट सार्वजनिक अभिव्यक्तिहरु आउन नहुने निचोड पनि निकालेको छ । पन्तले कार्यदल र वार्तामा संलग्न स्थायी समिति सदस्यहरुले एकता प्रक्रियाबारे जानकारी गराएको जानकारी दिनुभयो ।