काठमाडौं, साउन १९ । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । विघटित कार्यदलका सदस्यहरुको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनु भयो ।
पार्टी एकतालाई अगाडि बढाउने उद्देश्यसाथ उहाँहरुबीच भेटवार्ता हुन लागेको एमाले संसदीय दलका उपनेता नेम्वाङको भनाई छ । ‘उहाँहरुबीच भेटवार्ता हुने पक्का भइसकेको छ, तर समय र ठाउँ भने अझै तय भइसकेको छैन,’ नेम्वाङले भन्नुभयो ।
सोमबार सम्पन्न एमाले स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउने निर्णय गरेको छ । सो बैठकले विभिन्न ९ वटा विभाग पनि गठन गरेको छ । ती विभागमा माधव गुटका लागि पनि ठाउँ खाली गरिएको छ । लाखौं कोशिस गर्दा पनि माधव गुटले एकतामा चासो नदिएपछि एमालेले १० बुँदे सहमतिअनुसार पार्टीका गतिविधि अगाडि बढाएको छ । कार्यक्रमहरु अगाडि बढाउने र माधव गुटका लागि ठाउँ सुरक्षित राख्दै अगाडि बढ्ने एमालेको रणनीति छ ।
एकताको नाममा लामो समयसम्म कुरेर बस्दा पार्टीको काममा धक्का लाग्ने जनाउँदै एमालेले बिधान महाधिवेशन र पालिका तहको अधिवेशन मितिसमेत तोकिसकेको छ । सर्वाेच्च अदालतले सोमवार एमाले महाधिवेशन आयोजक कमिटीलाई अबैध घोषणा गर्ने पुरानो फैसला सच्याएर बैधानिकता दिनुका साथै कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदको पद खारेज गर्ने फैसला गरेपछि माधव अध्यक्ष ओलीसँग भेटन तयार हुनुभएको हो । आजको भेटबार्ताले एमालेको आगामी बाटो तय गर्ने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्