जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १४:१३

देउवालाई श्याम श्रेष्ठको सुझाव : धरहरा पनि उल्ट्याए भयो, रानी पोखरी पनि भताभुंग पारे भयो


काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका नेता तथा बुद्धिजिवी श्याम श्रेष्ठले भूमी आयोग खारेज गरेर सरकारले अत्यन्तै गलत काम गरेको भन्दै आक्रोश पोख्नुभएको छ । सत्ता गठबन्धन पक्षधर वामपन्थी बुद्धिजिवी श्रेष्ठले सामाजिक सञ्जालमार्फत भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले गम्भीर गल्ती गरेको बताउनु भएको हो ।

श्रेष्ठले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउनुपर्ने भन्दै आयोग नै खारेज गर्नु गलत भएको बताउनु भयो । श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट सरकार मुक्त हुन आवश्यक रहेको बताउनु भयो ।

‘यो भूमिहीन, गरिब सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो । राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनुपर्छ । जनविरोधी देशघाती कुरामात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि उल्ट्याए भयो रानी पोखरी पनि भताभुंग पारे भयो,’ श्रेष्ठले भन्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग खारेज गरेको थियो । सरकारको सो निर्णयको चर्काे आलोचना भएको छ ।