जनता टाइम्स

२० श्रावण २०७८, बुधबार २२:३०

आयोग विघटनविरूद्ध युवा संघको नेतृत्वमा मनोहराबाट सुकुम्बासी आन्दोलन


काठमाडौँ, २० साउन।  भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध नेकपा एमालेनिकट युवा संघले बिहीबार प्रदर्शन गर्ने भएको छ। युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार प्रदर्शन गर्ने भएका हुन्। आयोगले काम थालेको १४ महिना पुग्दै गर्दा काँग्रेस नेतृत्वको सरकारले मंगलबार आयोग विघटन गर्ने निर्णय गरेको थियो।

आफ्नो सरकारको पालामा गठन भएको आयोगले १ लाख ८३ हजार भूमिहीन, सुकुम्बासी तथा दलितलाई लालपूर्जा दिन लागेको बेला आयोग विघटन गरेपछि युवा संघले सुकुम्बासीसँगै प्रदर्शन गर्ने भएको हो। युवा संघका विभागीय प्रमुख तथा इञ्चार्ज महेश बस्नेतले बिहीबार ३ बजे मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने बताउनुभयो । सुकुम्बासीहरूलाई लालपूर्जा दिन लागेको बेला आयोग विघटन गर्नु दुर्भाग्यपूर्ण छ,’ बस्नेतले भन्नुभयो , ‘हामी सुकुम्बासीहरूसहित प्रदर्शन गर्दैछौं।’

‘यो कदम राष्ट्रघातीसाथै सुकुम्बासी, दलित र भूमिहीनको विरूद्धमा छ, त्यो कदमविरूद्ध हामी आन्दोलनमा निस्किनुबाहेक विकल्प छैन,’ उहाँले भन्नुभयो । बस्नेतले फेसबुकमा स्टाटस लेखेर सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गर्नुभएको छ। तत्कालीन केपी ओली सरकारले एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो। यसअघि बुधबार नै नेकपा एमालेले विज्ञप्ति जारी गरी आयोग विघटनको विरोध गरेको थियो।