जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०५:४२

माधवलाई अरुण नेपालको गाउँबाटै धक्का, एकतावद्ध एमाले र सूर्य चिन्हको पक्षमा उभियो सुनकोशी गाउँपालिका


सिन्धुपाल्चोक, साउन २१ । नेकपा (एमाले) को केन्द्रमा लामो समयदेखि रस्साकस्सी चलिरहे पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा भने पार्टी एक बनाएर लैजाने सहमति भएको छ । संस्थापन र बरिष्ठ नेता माधव नेपाल समुहबीच पार्टी एक बनाएर लैजाने सहमति भएको हो ।

पार्टीलाई २०७५ जेठ २ को पुर्ववत अवस्थामा पार्टीका सबै संरचनाहरु फर्काउन एमाले सुनकोशीका दुवै पक्षका नेताहरु सहमत भएपछि बिवाद समाधान भएको हो । नेताको मुख ताक्दा पार्टी नै गंभीर संकटमा पर्ने ठहरसहित सो गाउँपालिकामा दुवै पक्षका नेताहरु एक ठाउँमा उभिएका हुन ।

एमाले र सुर्य चिन्हको पक्षमा आफूहरु उभिने उनीहरुको निर्णय छ । ‘केन्द्रमा विवाद नै छ तर सुनकोशीमा भने जता एमाले र सूर्य चिन्ह रहन्छ, हामी त्यही हुने निर्णय गरेका छौ’ यसअघि माधव नेपाल पक्षमा रहेका एमाले सुनकोशीका नेता टपिन्द्र तिमिल्सिनाले भन्नुभयो। तिमिल्सिनाका अनुसार साउन ३० गतेभित्र २०७५ जेठ २ अघिकै कमिटीको बैठक बोलाउने र त्यस अघि दुवै पक्षबीचमा सहजीकरणका लागि आठ सदस्यी सहजीकरण कमिटी समेत गठन गरिएको छ ।

एमालेमा केन्द्रमा संस्थापन र नेपाल पक्षबीच विवाद भएपछि त्यसको असर गाउँ तहसम्म पुगेको थियो । सुनकोशी गाउँ कमिटीमा समेत यसअघि दुवै पक्षको छुट्टा छुट्टै कमिटिहरु क्रियाशिल रहेका थिए । सुनकोशी गाउँपालिकाका स्थानीय समेत रहेका एमाले नेताहरु अरुण नेपाल र सरेश नेपाल क्रमशः माधव नेपाल र संस्थापन पक्षमा हुनुहुन्छ । केन्द्रीय नेताहरुलाई समेत सन्देश दिने गरेर एमाले र सूर्य चिन्ह जता रहन्छ सबै त्यही रहने निर्णय गरेको यसअघि संस्थापनमा रहनुभएका नेता पुरुषोतम प्याकुरेलले बताउनु भयो । पालिका स्तरीय भेलामा दुवै नेताहरुलाई बेलाउने नेताहरु बीच सहमति भएको अर्का स्थानीय नेता इश्वर तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला कमिटीमा अझै एकता नभएकाले पार्टी केन्द्रले सुरु गरेको संगगिठत सदस्य नवीकरण पालिका तहमा गर्ने र जिल्ला कमिटी आधिकारीक भएपछि पालिकामा नवीकरण गरेको संगठीत सदस्य जिल्ला कमिटीमा लैजाने निर्णयसमेत भएको छ । ‘हामी हिजो जुन जुन पक्षमा भएपनि अब एमाले संस्थापन भएका छौ,त्यही सन्देश लिएर अब वडा तहसम्म जाने छौ र एमालेलाई एक ढिक्का बनाएर लैजाने छौ,’ एमाले नेता प्रेमलाल लामाले भन्नुभयो ।