जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०७:०७

कांग्रेस बिवाद उत्कर्षतिर, रामचन्द्र पौडेलले दिए देउवालाई कडा चेतावनी


काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने चेतावनी दिनुभएको छ । क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलले यस्तो चेतावनी दिनुभएको हो ।

बरिष्ठ नेता पौडेलले महाधिवेशन हुन नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने भएकोले नेतृत्व स्वीकार गर्न नसकिने बताउनु भएको छ । सभापति देउवाले महाधिवेशन हुन्छ, हुन्छ भन्ने तर महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप पनि पौडेलले लगाउनु भएको छ ।

‘महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भन्ने, तर काम केही नगर्ने, समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी–छानी मान्छे हाल्ने, हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता हामी मान्दैनौ’, बैठकमा पौडेलको भनाई थियो, ‘मैले पहिलेदेखि भन्दै आएको छु विचार गर्नुहोला । कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति, न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ ।’ बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार पौडेलले महाधिवेशन गर्छु भन्ने तर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्नसमेत देउवालाई चेतावनी दिनुभएको छ ।

कांग्रेसको जारी क्रियाशील विवादमा नयाँ र समायोजनका सूचीमा संस्थापनइतर समूहको आपत्ति छ । पौडेलले आफ्नो पक्षले चुनाव जित्ने निश्चित भएको क्षेत्र र जिल्लामा अन्य पार्टीबाट आएको भन्दै फर्जी सदस्यता दिइएको आरोप पनि लगाउनु भएको छ । यस्तै विगतमा सदस्यता नभएका व्यक्तिको नाम नवीकरणमा घुसाइएको समेत पौडेल पक्षको आरोप छ ।

कांग्रेसको भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा कांग्रेस महाधिवेशन हुने भनिए पनि सदस्यता विवादका कारण वडा तहको अधिवेशनसमेत हुन सकेको छैन । संवैधानिक प्रावधानअनुसार हरेक राजनीतिक दलले सामान्यतः ५ वर्ष र विशेष अवस्थामा थप ६ महिनाभित्र प्रदेश र संघीय पदाधिकारीको निर्वाचन गर्नुपर्ने हुन्छ । कांग्रेसको १३ औं महाधिवेशन २०७२ साल फागुन २३ गते सम्पन्न भएको थियो । संवैधानिक व्यवस्थाअनुसार २०७८ भदौ २३ मा कांग्रेसको वर्तमान कार्यसमितिले ५ वर्ष ६ महिनाको अवधि पूरा गर्छ ।