जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०८:१६

प्रधानमन्त्री देउवालाई सभापति मान्न सकिन्न भन्दै रामचन्द्र पौडेलले दिए यस्तो चेतावनी


काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताउनुभएको छ । क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिनुभएको हो । सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उहाँले लगाउनुभयो । नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनीसमेत दिनुभयो । ‘मैले पहिलेदेखि भन्दै आएको छु विचार गर्नुहोला । कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति, न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ,’ बैठकमा पौडेलले भन्नुभयो । पौडेलले महाधिवेशन गर्छु भन्ने तर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्नसमेत सभापतिलाई चेतावनी समेत दिनुभयो । महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भन्ने, तर काम केही नगर्ने ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी–छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भन्नुभयो । पौडेलको भनाइमा सभापति देउवाले लामो प्रतिक्रिया दिनुभएन । उहाँले ‘महाधिवेशन गर्नी हो, हुन्छ हुन्छ’ मात्रै भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । देउवा लामो समय बैठकमा नबसी बाहिरिनु भएको थियो ।