जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १०:४६

लालबाबु पण्डितले खोले माधव प्रचण्डमा बिलय भइसकेको यो तथ्य


काठमाडौं, साउन २१ । पुर्व मन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितले माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मिलेमतोमा एमाले सिध्याउने रणनीति भएको दाबी गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता र सहमतिका लागि अधिकतम प्रयास गरेपनि माधव नेपाल लचिलो नहुनुले त्यही संकेत गरेको उहाँको भनाइ थियो ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै पण्डितले भन्नुभयो,–‘पार्टी एकताका लागि अध्यक्ष ओलीले अधिकतम लचकता र गम्भिर भएको देखिन्छ तर माधव नेपालमा त्यो देखिएन, उहाँ मनलाग्दी गरिरहनुभएको छ।’असन्तुष्टिको नाममा स्वार्थ केन्द्रित भएर माधव नेपालले लडाई लडिरहेको उहाँको आरोप थियो । माधव नेपाल र प्रचण्ड नाम मात्र फरक तर मान्छे एउटै भएको पण्डितको टिप्पणी थियो ।

उहाँले भन्नुभयो,–‘माओवादी अध्यक्ष प्रचण्ड र माधवले शेरबहादुर देउवालाई भगवान मानेका छन् । यता देउवा जनताको विश्वासले होइन, प्रचण्डको विश्वासले हैन, माधव नेपालको विश्वासले पनि हैन, ज्योतिषको विश्वासमा दौडिरहनु भएको छ । माधव नेपाल अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन पाईदैन भनेर एमालेमा प्रस्ताव ल्याइराख्नुभएको छ, त्यो गलत छ ।’ पण्डितको तर्क थियो ।

अध्यक्ष ओली र माधव नेपालको वार्तामा प्रचण्डको हस्तक्षेप हुने गरेकाले अहिलेसम्म सहमति बन्न नसकेको उहाँको दावी थियो । बहुमतको सरकारलाई हटाएर अल्पमतको सरकार बनाउदा आगामि दिनमा संसदमा शेरबहादुर देउवाले तोरीको फुल देख्छन उहाँले भन्नुभयो । अल्पमतको सरकार र बहुमतको प्रतिपक्ष भएपछि छिट्टै सरकारमा गतिविधि देख्न पाईने उहाँले बताउनुभयो ।