जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १३:३६

माधव समुहबारे निर्णय लिन एमालेले बोलायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो


काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

नेपाल समुहको आजको निर्णयलाई हेरेर भावी रणनीति बनाउन एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत बोलाइएको छ । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न आफूहरुलाई समेत बैठकमा डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिनुभयो । नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान रहेको छ ।

पार्टीमा सहमति कायम गर्न निकै ठूलो प्रयाश भएपनि माधव नेपाल शेरबहादुर देउवा सरकारमा जसरी पनि गएरै छाडने र प्रचण्डसँग छुटन नसक्ने रोगको सिकार भएपछि बिस्तारै अलग पार्टीको दिशामा गएको हो । ‘माधव समुहले अलग पार्टी बनाउने भएपछि अव भोलि बस्ने स्थायी कमिटी बैठकले धेरै कुराहरुको छिनोफानो गर्नेछ,’ एमाले कार्यदलमा रहनुभएका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार अव माधव एमालेमा फर्कने संभावना लगभग सकिएको छ । माधवसँगै सो समुहका कति जना नेता सती जाने हुन यसै भन्न नसकिने ती नेताको बुझाइ छ ।