जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार ०८:५२

आफ्नै पार्टी भित्रबाट हुनथाल्यो प्रधानमन्त्री देउवाको आलोचना : पार्टी प्रवक्ताले भने यस्तो


काठमाडौं, २२ साउन ।  नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भिडियो श्रृंखलामाथि आलोचना गर्नुभएको छ । मलाई शेरबहादुर देउवा मन पर्छ किनभने……. शिर्षकको भिडियो श्रृंखला अहिले बनाउने समय नभएको भन्दै उहाले प्रधानमन्त्री देउवाको सचिवालयलाई ध्यानाकर्षण समेत गराउनु भएको छ ।

साथै प्रधानमन्त्रीलाई अहिले सही सल्लाह दिनुपर्ने बेला भएको र काम राम्रो भए जनताले आफैँ भिडियो बनाउने शर्माको सुझाव छ ।प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैँले बनाउने छन् भिडियो, नत्र पार्टीले बनाउला , नेता शर्माले भनेका छन् । सरकारको कामलाई फूल रोप्नुसँग तुलना गर्दै शर्माले फूल रोपेर गोडमेल गरे सुवास प्रकृतिले आफैँ फैलाउने टिप्पणी गरे । उनले ट्वीटरमा लेखेका छन्, पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ । प्रधानमन्त्रीको सचिवालयुको ध्यानाकर्षण गराएको छु । जय नेपाल ,

प्रवक्ता शर्माले यसअघि अर्को ट्वीटमा पनि सरकारलाई सुझाव नै दिनुभको छ । । प्रधानमन्त्रीको प्रचार शैलीमाथि टिप्पणी गर्दै उहाले यसअघि पनि प्रचार भन्दा काममा ध्यान दिन सुझाव दिनुभएको थियो । खोपदेखि भोटसम्मको यो यात्रा तीन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ , परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् उहाँले भन्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भिडियो श्रृंखला मलाई शेरबहादुर देउवा मन पर्छ किनभने……. लाई लिएर सामाजिक सञ्जालमा छोटो समयमै तिब्र रुपमा आलोचना र टिप्पणी हुन थालेको छ। विदेशी नेताहरुको शैलीबाट प्रभावित भएर यस्तो भिडियो प्रशारण गरिएको भन्दै देउवाको व्यंग्य समेत गरिएको छ ।