जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १५:०४

प्रहरी हिरासतमा रहेका युवाको मृत्यू, सरीरभरी निलडाम



सिन्धुपाल्चोक, साउन २२ । प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ निवासी युवा खड्गबहादुर तामाङको आज बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

तामाङलाई प्रहरीले चोरी गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखेको थियो । घुम्थाङ–७ स्थि रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ हजार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षीय तामाङलाई नगद ५८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा राखेको थियो । प्रहरी हिरासतमा भएकै बेला तामाङ बिरामी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एसपी राजन अधिकारीले जानकारी दिनुभयो ।

हिरासतमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेपछि परिवारलाई खबर गरेको र परिवारकै सदस्यसहित धुलिखेलमा उपचारका लागि पठाएका एसपी पन्तले बताउनु भएको छ । तामाङका आफन्तहरुले भने हिरासतभित्र प्रहरीको कुटाइले मृत्यु भएको आरोप लगाएका छन । ‘शरीरभर निलडाम र चोटपटक देख्न सकिन्छ । प्रहरी हिरासमतमा भएको व्यक्तिको शरीरमा कसरी चोटपटक लाग्छ ?’ मृतकका आफन्तहरुको भनाई छ । मृतक तामाङको सरीरभरी निलडाम देखिएको छ । जस्को कारण परिवारको दावीलाई बलियो बनाएको छ ।