जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार ०८:२१

पार्टीमा प्रत्यक्ष निर्वाचित नेतृत्वको बिपक्षमा उभिए बामदेव


काठमाडौं, साउन २३ । एमाले उपाध्यक्ष वामदेव गौतमले प्रत्यक्ष निर्वाचित नेतृत्वको प्रावधान सच्याउन प्रस्ताव गर्नुभएको छ । पार्टी अध्यक्ष महाधिवेशन प्रतिनिधिबाट चुन्ने प्रणाली गलत रहेको भन्दै गौतमले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने गरी विधान संशोधनको प्रस्ताव राख्नुभएको हो ।

उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको अनौपचारिक बैठकमा महाधिवेशन हलबाट पदाधिकारी चुन्ने प्रणालीले तलदेखि माथिसम्म प्यानल बन्ने र त्यसले पार्टी विभाजित हुने भन्दै सच्याउनु पर्ने बताउनु भयो । गौतमले विधान महाधिवेशनका सन्दर्भमा आफ्ना लिखित धारणा राख्दै महाधिवेशन हलबाट पदाधिकारी चुन्ने प्रणालीको ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने व्यवस्था राख्नुपर्ने बताउनु भएको हो ।

महाधिवेशन हलले केन्द्रीय कमिटीको निर्वाचन गर्ने र केन्द्रीय कमिटीले अध्यक्ष,उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी चुन्ने व्यवस्था विधानमा राख्न गौतमको सुझाव छ । एमालेमा सातौं महाधिवेशनसम्म केन्द्रीय कमिटीले महासचिव चुन्ने व्यवस्था रहेको थियो । अध्यक्षात्मक प्रणालीमा गएपछि महाधिवेशन हलबाट पदाधिकारीसहित सदस्यहरु निर्वाचित हुने व्यवस्था कायम भएको हो ।

उपाध्यक्ष गौतमले राज्यको कार्यकारीमा भने प्रत्यक्ष निर्वाचित व्यक्ति हुनुपर्ने सुझाव दिनुभएको छ । गौतमले संसदबाट निर्वाचित प्रधानमन्त्रीको साटो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने सुझाव विधान संशोधन कार्यदलमा पेश गर्नुभएको हो । त्यस्तै मुलुकको निर्वाचन प्रणाली पनि व्यक्ति नभई पार्टी निर्वाचित हुनुपर्ने गौतमको सुझाव छ । गौतमले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने धारणा राख्नुभएको छ ।