जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार १६:३०

सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन : संबिधानविद अधिकारी


काठमाडौं, साउन २३ । संविधानविद विपिन अधिकारीले संविधानको धारा ७६(५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । काठमाडौंमा आज आयोजित ज्ञान गोष्ठी संवाद श्रृंखलामा बोल्दै संविधानविद अधिकारीले सर्वोच्चले सांसदलाई ह्वीप नलाग्ने भनेर फैसला नगरेको भन्दै यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

संविधानविद अधिकारीले दलको ह्वीप नलागे संसद पनि नचल्ने र संसदीय व्यवस्था पनि नटिक्ने ठोकुवा गर्नुभयो । ‘अदालतले सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन,’ अधिकारीले भन्नुभयो, ‘अदालतले राजनीतिक दलसम्वन्धी कानून हेर्दैन र ?’ कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेर माधव नेपालसहित एमालेका केही सांसदहरु राष्ट्रपति समक्ष गएका बेला पार्टीले ह्वीप जारी नगरेको पनि अधिकारीको भनाइ छ ।

‘तर अदालतले ह्वीप लाग्दैन भन्यो भन्दै पण्डितहरु निस्किए, सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हाँस्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नु हुन्न,’ अधिकारीले भन्नुभयो ।