जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार ११:२७

शब्दमा ब्यक्त गर्न सकिदैन आफ्नै आँगनको धारामा पानी थाप्न पाउँदाको खुसी


सिन्धुली, साउन २४। बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौं देखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् ।

विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पुर्‍याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।

पिउने पानीको जोहो गर्दै वर्षौं बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् । ‘एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियौ, हिजो हिलो निचोरेर पानी खान्थ्यौं, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौं.’ स्थानीयवासी मनमाया कार्कीले भन्नुभयो ।

यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पुर्‍याउनुपर्दथ्यो । उहाँले भन्नुभयो, ‘छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौँ, यसले हामीलाई राहत पुर्‍याएको थियो, अहिले घरै नजिकको धारमा २४सैं घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छौं ।’

विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताउनुभयो । ‘मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौं, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्दथ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छु,’ उहाँले भन्नुभयो, ‘हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारमा पानी थापेर वर्षौंदेखि नमरेको धित मार्न पाएका छौं, खानेपानीले सुविधासम्पन्न भएका छौं ।’

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट संकलन गरी घ्याम्पोमा संकलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखरलगायतका स्थानमा वर्षौंदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उहाँको भनाइ छ । यसबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

डोकोमा गाग्री बोकेर घण्टौंपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उहाँले बताउनुभयो । बेलघारी–१ निवासी सयौं घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उहाँले बताउनुभयो । रासस