जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार ०७:२९

देउवा प्रधानमन्त्री बन्नु यो देशकै विडम्वना : रामचन्द्र पौडेल


काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापित तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भीर आरोप लगाउनु भएको छ । बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवा सर्वत्र असफल ब्यक्ति भएको भन्दै सामाजिक सञ्जालमै गम्भीर आरोप लगाउनु भएको हो ।

पौडेलले पार्टीको महाधिवेशन गर्न नसकेको असफल देउवा नै प्रधानमन्त्री बनेको भन्दै बिडम्बना भन्नुभएको छ । पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनु भएको हो । सभापति देउवाले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उहाँको टिप्पणी छ ।

‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? ‘ पौडेलले भन्नुभएको छ, ‘यो देशकै विडम्बना हो, सर्वत्र असफल व्यक्तिहरु बारम्वार सत्ता समाल्न पुग्छन ।’ नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको ठोकुवासमेत गर्नुभएको छ ।

यस्तो छ पौडेलको कुरा

पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्वार सत्ता समाल्न पुग्छन।