जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १९:३०

एमाले बिधान केन्द्रीय कमिटीबाट पारित : अध्यक्ष र केन्द्रीय सदस्य मात्रै प्रत्यक्ष निर्वाचित, बरिष्ठ नेता खारेज, ७० बर्षको उमेर हद कायमै (पूर्णपाठ)


काठमाडौं, साउन ४ । नेकपा एमालेले अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनको हलबाट प्रत्यक्ष निर्वाचित हुने गरी बिधान संशोधन गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित सवै पदाधिकारी हलबाट निर्वाचित हुने ब्यवस्थाले पार्टीमा गुटबन्दी मौलाएको निश्कर्षसहित अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनको हलबाट निर्वाचित हुने गरी बिधान संशोधन गरेको हो ।

केन्द्रीय कमिटीबाट पारित बिधानमा हाल कायम रहेको उपाध्यक्षको संख्या पनि घटाइएको छ । हाल ५ जना उपाध्यक्ष रहेकोमा बिधानमा घटाएर दुईमा सिमित गरिएको हो । यसैगरी एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहने ब्यवस्था गरिएको छ । संशोधित बिधानमा अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी रहने ब्यवस्था गरिएको हो । यसैगरी बरिष्ठ नेताको ब्यवस्था पनि हटाइएको छ । संशोधित बिधानमा २ सय २५ सदस्यीय केन्द्रीय कमिटी कायम गरी पोलिटब्यूरो र बैकल्पिक केन्द्रीय सदस्यको प्रावधान खारेज गरिएको छ भने महिलालाई सवै कमिटीमा ३३ प्रतिशतको ब्यवस्था कायम गरिएको छ ।

पारित बिधानमा ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने ब्यवस्था गरिएको छ । यस्तै पार्टी सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालय र प्रशासनिक तथा ब्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय रहने ब्यवस्था गरिएको छ । यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष र सदस्य महाधिवेशनबाट निर्वाचित हुने, अन्य पदाधिकारी कमिटीबाट निर्वाचित गर्ने ब्यवस्था गरिएको छ । पारित बिधानमा प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवको ब्यवस्था गरिएको छ । बिधानमा ७० बर्षको उमेर हदलाई पनि यथावत राखिएको छ ।