जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार २०:५१

आफै पूर्ण बन्न नसकेको सरकारसँग के अपेक्षा गर्ने, जनविरोधी कामहरु भए प्रतिवाद गछौं – प्रवक्ता ज्ञवाली


काठमाडौं, २५  साउन ।  नेकपा एमालेको प्रवक्ता प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनविरोधी भएको बताउनु भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकपछि प्रवक्ता ज्ञवालीले गठबन्धन सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको बताउनुभयो ।

परमादेशबाट बनेको वर्तमान सरकार जन्मेदेखि नै खस्रो पात देखिन थालेको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो –यो सरकारले बनाउने कुरा भन्दा भत्काउने कुराबाट यात्रा सुरु गरेको छ, संविधानमा भएको व्यवस्था अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोग भत्काउने काम गरेको छ । सरकारको पहिलो काम भूमि आयोग भत्काउने रहेको उहाँले बताउनुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनमाथि सरकारले अन्याय गरेको उहाँको भनाइ छ । भत्काउने भए भूमि आयोग मात्रै नभएर धरहरा समेत भत्काउन उहाँले सरकारलाई चुनौती समेत दिनुभयो ।

जनस्तरबाट पनि यस्ता खालका प्रतिक्रिया आएको उहाँले बताउनुभयो । सरकारको जनविरोधी निर्णयको एमालेले निन्दा गरेको उहाँले बताउनुभयो । आयोग विघटन गर्ने निर्णय तत्काल सच्याउन केन्द्रीय कमिटी बैठकले माग समेत गरेको उहाँले बताउनुभयो । अवसरवादी गठबन्धनको साझा कार्यक्रमबारे आफूहरुलाई कुनै अपेक्षा नभएको पनि उहाँले सुनाउनुभयो । गठबन्धनको साझा नीति तथा कार्यक्रममा केही बुँदा अनुचित रहेका पनि उहाँले बताउनुभयो ।

कालापानी,लिम्पियाधुरा, लिपुलेकसम्बन्धी समस्या समाधान गर्ने भन्ने प्रस्तावप्रति उहाँले आपत्ति जनाउनुभयो ।केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले ती भूभाग समेटेर नक्सा जारी गरी संविधान समेत संशोधन गरेको र भूमि ल्याउनका लागि वार्ता अगाडि बढाइसेको अवस्थामा समस्या समाधान गरिनेछ भन्नु उचित नरहेको उहाँले बताउनुभयो । समस्या समाधान गरिनेछ भन्नुको सट्टा भारतले लुटेको हाम्रो भूमि फिर्ता ल्याइनेछ भन्नुपर्ने उहाँले बताउनुभयो ।प्रतिपक्षलाई लगातार चुनौती दिँदै जनविरोधी कामहरु भए आफूहरु चुप लागेर नबस्ने पनि उहाँले चेतावनी दिनुभयो ।