जनता टाइम्स

२७ श्रावण २०७८, बुधबार १२:४१

भीम आचार्यले नै गरिदिए माधवको भण्डाफोर


काठमाडौं, साउन २७ । एमाले सचिव भीम आचार्यले बरिष्ठ नेता माधवकुमार नेपालप्रति कडा आक्रोश पोख्नुभएको छ । बरिष्ठ नेता नेपालले योजना बनाएरै पार्टी एकताको पक्षमा उभिनेबिरुद्ध बदनामको अभियान चलाएको तथ्य खोल्दै नाम नलिई आचार्यले माधवप्रति आक्रोश पोख्नुभएको हो । एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको भन्दै आचार्यले माधवको पोल खोल्नुभएको हो ।

एमाले एकताको पक्षमा बुधबार ८ बुँदे अपिल जारी गर्दै आचार्यले असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार भएको बताउनुभयो । उहाँले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने पनि बताउनुभएको छ । आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । पार्टी एकता अभियानमा लागेका नेताहरुप्रति माधवसहित सो समुहका केही नेता मिसन बनाएरै बदनाम गर्न लागेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

यस्तो छ आचार्यको ८ बुँदे अपिल

एकातिर गत फागुन २८ गतेबाट शुरू भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोलि, बचन, काम, ब्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।

अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि, भन्ने आशंका बढेर गएको छ।

पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

दुनियाँभरकै प्रतिकृयावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होईन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।

नेकपा एमालेका देश विदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन्।

गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्छ।

हाल पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने, निरूत्साहित(हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।

टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश(विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु।