काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारको जनबिरोधी कामको भण्डाफोर गर्ने घोषणासहित पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता सहयात्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको दवावमा भट्टराईलाई प्रतिशोध साँधेर राजनीतिक स्पष्टिकरण सोधेपछि जवाफ नदिने घोषणा गर्नुभएका महाप्रबन्धक भट्टराईले ‘जनबिरोधी काम गर्दा पनि बोल्नै नपाउने’ देउवा सरकारको अधिनायकवादबिरु लडाई लडने भन्दै आज राजीनामा दिनुभएको हो । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज राजीनामा पत्र बुझाउनु भएको छ ।
‘रेल संचालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ)“मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेख्नुभएको छ ।
यस्तो छ राजीनामाको पूर्णपाठ
मितिः २०७८।०४।२७
श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सिंहदरबार काठमाण्डौं ।
विषयः राजिनामा ।
उपरोक्त सम्बन्धमा नेपाल सरकार , मन्त्रिपरिषद्को मिति २०७८-०४/१९ को निर्णय अनुसार विभिन्न वहाना बनाई मेरो पदीय जिम्मेवारी भन्दा बाहिरका असान्दर्भिक विषयहरु जोडी नागरिकको संविधान प्रदत्त मौलिक हक अन्तर्गतको वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरुको आदेश र निर्देशनमा मलाई सफाई पेश गर्ने सम्बन्धमा लेखिएको तहाँ मन्त्रालयको प.सं स १.११/०७८/७९ च. नं. ३ मिति २०७८/०४/२२ को पत्र मिति २०७८/०४/२४ मा प्राप्त भई व्यहोरा अवगत भयो ।
मैले नेपाल रेलवे कम्पनीको महाप्रवन्धक पदमा नियुक्ति लिएको दिनदेखि इमान्दारीतापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्रायः अवस्थामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडलाई पुनर्जिवन दिई पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुराएको छु र नेपालमा आधुनिक रेल प्रविधि भित्र्याउने,नेपालमा नै रेल्वेसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने काममा योगदान गरी नेपाललाई रेल युगमा प्रवेश गराउन महत्वपूर्ण भुमिका खेलेको कुरा स्पष्ट नै छ।मैले आफ्नो दक्षता एवं क्षमताको प्रयोग गरी रेल्वे ट्रयाक तथा अन्य भौतिक संरचना निर्माणको कार्य सम्पन्न गरी गराई नेपाल रेल्वे कम्पनीले उक्त संरचना बुझ्ने अन्तिम अवस्थामा रहेको, नेपालमा हाल उपलव्ध हुन नसकेको रेल्वेको सञ्चालन र मर्मत संभार सम्बन्धी कार्यको लागि दक्ष जनशक्तिको तालिम सम्पन्न गराएको, नेपालमा उपलव्ध हुन नसकेको रेल्वे सञ्चालन र मर्मत संभार सम्बन्धी उच्च दक्ष जनशक्ति भारत सरकारसँग सम्झौता सम्पन्न गरेर त्यस्ता जनशक्ति रेल सञ्चालनको निमित्त परिचालन हुन तयार अवस्थामा रहेको छ ।नेपाल भारत सीमा वारपार रेल सञ्चालनको निमित्त Standard Operating Procedure(SOP) तयार गरी दुवै देशका सरकारहरुबाट अनुमोदन गराई सकिएकोले अव रेल सञ्चालन हुने मिति मात्र तय हुन बाँकी रहेको अवस्था रहेकोले सोको जानकारी सम्मानीय प्रधानमन्त्रीलाई जानकारी समेत गराई सकेको छु।
अतः रेल संचालनका लागि गर्नु पर्ने पूर्व तयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाईसफाई पेश गर्न भनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ)”मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकासविरोधीतथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनता विरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु।
गुरु प्रसाद भट्टराई
महाप्रवन्धक
नेपाल रेलवे कम्पनी लिमिटेड













प्रतिक्रिया दिनुहोस्