काठमाडौं, साउन २८ । ‘क्रियाशील सदस्यता फाराम कता छ रु वडा सभापति यता छ’ भन्दै देउवा निवास अगाडी प्रर्दशन
काठमाडौं, साउन २८ । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठअगाडि प्रदर्शन गरेका छन् ।
पटकपटक प्रमाणसहितको उजुरी दिँदा पनि आफूहरूको मागमा पार्टीले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । देउवा निवासमा भेला भएका रौतहट क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले हटाएका छन् ।विधान अनुसार वडा तहका सभापतिलाई क्रियाशील सदस्यता फाराम दिनुपर्ने भए पनि क्षेत्रीय सभापतिले वडा सभापतिलाई फाराम नदिएको उनीहरूको गुनासो छ ।
नेतृत्वको ध्यानाकर्षण गराउन पुगेकाले ‘क्रियाशील सदस्यता फाराम कता छ? वडा सभापति यता छ’ जस्ता प्लेकार्डहरू बोकेका छन् ।महाधिवेशनको संघारसम्म पनि सदस्यता नटुंग्याइएको, पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गरिनुपर्नेलगायतका माग राख्दै कांग्रेसको केन्द्रदेखि जिल्लासम्म दिनहुँजसो धर्ना, अनसन जारी छ ।
समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिनुभयो। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ। विधानमा चार वर्षमा महाधिवेशन गर्ने भनेको छ। तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उहाँले भन्नुभयो । विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन्।













प्रतिक्रिया दिनुहोस्