काठमाडौं, साउन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार गर्नुभएको छ । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसले चीनले हुम्लामा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुटनीतिक पहल गर्ने भनेर राख्न खोजेको थियो ।
तर पछिल्लो चीनको सामिप्यमा पुगेका प्रचण्डले त्यसलाई राख्न मानेनन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय साझा न्यूनतम कार्यक्रममा राख्न प्रचण्डले नमानेको जानकारी दिनुभएको एक नेताले बताउनुभयो ।
बैठकमा उपसभापति विमेन्द्र निधि, नेता जीवनबहादुर शाहीले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नपरेको भनेर प्रश्न उठाउनुभएको थियो । जवाफमा देउवाले राख्न खोजेको तर प्रचण्डले नमानेको बताउनुभएको हो । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे पनि केही उल्लेख नगरिएको देउवाले स्पष्ट पार्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्