रुपन्देही, साउन २८ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज साँझ मुख्यमन्त्रीको सपथग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले ६ जना मन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गर्नुभएको छ । मन्त्रिमण्डलमा एमाले सांसदसमेत परेका छन । तर नेकपा कालमा चुनाव जित्नुभएकी विमला ओलीलाई भने केसीले मन्त्रिमण्डलमा समावेश गर्नुभएन । मुख्यमन्त्री केसीले दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित कांग्रेस नेता डिल्ली चौधरीलाई ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिनुभएको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराम यादव नियुक्त हुनुभएको छ । अन्य तीन जना भने विनाविभागीय मन्त्री बनेका छन । विनाविभागीय मन्त्रीको रूपमा सपथ लिनेहरूमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा हुनुहुन्छ । ग्रामीण तथा सहरी विकास मन्त्री चौधरी नेपाली कांग्रेस तथा कृष्णध्वज खड्का माओवादी केन्द्र तथा सहसराम यादव जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।
त्यस्तै, विनाविभागीय राज्यमन्त्रीमा सपथ ग्रहण गर्नुभएका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी जनता समाजवादी तथा अजय शाही सूर्य चिन्ह लिएर एमालेबाट निर्वाचित हुनुभएको हो । एमालेले मन्त्री खान गएलगत्तै शाहीमाथि कार्वाही प्रक्रिया अघि बढाएको छ । यस्तै बिमला ओलीमाथि पनि एमालेले कार्वाही अघि बढाएको छ । एमाले नेता उत्तर ओलीको निधन भएपछि रित्तः स्थानमा उहाँकी पत्नी बिमलालाई उम्मेद्वार बनाएर जिताइएको थियो । लामो समय सत्ता पक्षमा रहेपनि अन्तिम समयमा ओलीले माओवादी रोज्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्