रुपन्देही, साउन २९ । नेपाली कांग्रेसको कारण जागिर गुमाउनु भएका कुलप्रसाद केसी ‘सोनाम’ नेपाली कांग्रेसकै कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री बन्नुभएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालोझण्डा देखाएको अभियोगमा केसीलाई राजनीतिक मुद्दा लगाएर शिक्षकबाट निलम्बन गरेपछि केसीको शिक्षण यात्रा रोकिएको थियो। बिहीवारबाट कांग्रेसकै समर्थनमा उहाँ मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
सामान्य किसान परिवारमा विसं २०२७ साल माघ १० रोल्पाको तत्कालीन कोटगाउँ गाविस २ जिबाङमा जन्मनुभएका केसीले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो भने दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । २०४३ सालमा राजनीतिसँग नजिक बन्नुभएका केसी ०४६ सालदेखि विद्यार्थी राजनीति शुरु गर्नुभयो । तत्कालीन मशालको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति शुरु गर्नुभएका केसी केही समयपछि माओवादीमा लाग्नुभएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका केसीले अखिलको साधारण सदस्यबाट राजनीति शुरु गर्नुभएको थियो ।
शिक्षकको जागिर गुमेपछि २०५० सालबाट केसीले भूमिगत राजनीति शुरु गर्नुभएका केसी माओवादीले जनयुद्ध शुरु गर्दा जिल्ला समिति सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो। २०५५ सालमा दाङ–सल्यान–प्युठान संयुक्त जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा नेतृत्व गर्नुभएका केसी २०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार हुँदै २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टी कामकै शिलशिलामा २०६० सालमा भारत जाँदा केसी श्रीमति ताराकुमारीसहित पटनाबाट पक्राउ परी ३ वर्ष ३ महिना भारतको बक्सर जेलमा कैदी जीवन बिताउनु भएको थियो । २०६३ सालमा जेलमुक्त भएपछि केसी पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार हुनुभयो । केसीले नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।
शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उहाँलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दिएको थियो । माओवादी पार्टीको विभाजन भएपछि भने केसी केही समय रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्य समूहमा आवद्ध हुनुभयो । २०७३ सालमा उहाँ बादलसँगै माओवादी केन्द्रमा फर्किनुभएको हो। २०७४ सालको प्रदेशसभा निर्वाचनमा केसी रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित हुनुभएको हो ।
एमाले र माओवादी एक नहुँदासम्म माओवादी केन्द्र संसदीय दलको नेता बन्नुभएका केसी पार्टी एकिकरण भएर नेकपा बनेपछि पार्टीको प्रदेश सहइन्चार्जसहित संसदीय दलको उपनेता बनेर मुख्यमन्त्री शंकर पोखरेलसँग सहकार्यको शुरुवात गर्नुभएको थियो । उहाँ पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । बिहविार पोखरेलाई विस्थापन गरी मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्