जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १४:२१

एमसीसी खारेज गर्न एमाले सांसद निरु पालको माग


काठमाडौं, साउन २९ । नेकपा (एमाले) सांसद निरुदेवी पालले अमेरिकी सहयोग एमससी खारेज गर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको शून्य समयमा बौल्दै पालले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसका कैयन प्रावधान असमान भएको भन्दै तिनै आधार सम्झौता खारेज गर्न काफी रहेको जिकिर गर्नुभयो ।

‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नु पर्ने आवश्यकता किन आइलाग्यो ?’ उहाँले भन्नुभयो, ‘एमसिसीले तयार पारेको प्रस्तावानामा छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टीकरण सोध्न समेत पाउने छैन । एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाझिएको खण्डमा स्वतः नेपालको संविधानमा उल्लेखित कानुन लागू हुनुपर्ने होइन र ?’

उहाँले विकासका लागि बाह्य शक्तिको हस्तक्षेप कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो । उहाँले थप्नुभयो, ‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ। यिनै आधार काफी छैनन् र एमसिसी खारेज गर्न ? विकासका लागि बाह्य शक्तिको हस्तक्षेप कुनै पनि हालतमा सह्य हुने छैन ।’