जनता टाइम्स

३१ श्रावण २०७८, आईतवार १८:५१

रुपन्देहीमा माधव समुहका अधिकांशले गरे एमालेको सदस्यता नविकरण


बुटवल, साउन ३१ । नेकपा एमाले रुपन्देहीले पार्टी कामलाई अघि बढाएको छ । लामो समयदेखि बरिष्ठ नेता माधव नेपाल समुहको पर्खाइमा बसेको एमाले अव थप समय नकुर्ने जनाउँदै सदस्यता नविकरणसम्बन्धी काम सकेर वडा र पालिकाको अधिवेशनको तयारीमा एमाले जुटेको हो । एमाले रुपन्देहीका सचिव विश्वराज बरालले सदस्यता नविकरणसम्बन्धी काम करिब सकिएको बताउनु भयो ।

‘साउन ३० गतेदेखि सदस्यता नविकरणको काम सकिएको छ, नविकरणको तथ्यांक निकाल्ने काम मात्रै बाँकी छ, पालिका र वडाबाट आएको प्रतिवेदनलाई समेटेर सदस्यता नविकरणको तथ्यांक निकाल्ने काम भइरहेको छ,’ सचिव बरालले भन्नुभयो । तथ्यांक निकाल्ने काम ३–४ दिनमै सकिने उहाँको भनाई छ । बरालले यसपटक पार्टीमा थुप्रै नयाँ सदस्यहरु थपिएको जानकारी पनि दिनुभयो । सदस्यता नविकरणको कार्यक्रमले नेता–कार्यकर्तामा उत्साह देखिएको बरालले बताउनु भयो ।

रुपन्देहीका एमाले अध्यक्ष शिवराज सुवेदीले सदस्यता नविकरण र नयाँ सदस्यतामा उत्साहजनक परिणाम आएको बताउनु भयो । उहाँले सदस्यता नविकरण र नयाँ सदस्यता बितरणमा पालिका तहबाट आएको आँकडाले एमाले अझै बलियो बनेको बताउनु भयो । सचिव बरालका अनुसार माधव समूह हौं भनेर समानान्तर गतिविधिमा सहभागी केही नेता–कार्यकर्ता बाहेक अरु सबैले सदस्यता नविकरण गरेका छन । ‘पहिला माधव समूहमा खुल्नुभएका साथीहरु समेत हामी एमाले हौं भनेर नविकरण गर्न आउनु भएको छ, कति जना आउनुभयो भन्ने कुरा तथ्यांक अन्तिम रुप दिएपछि खुल्छ,’ बरालले भन्नुभयो ।

उहाँका अनुसार पाँच ओटा निर्वाचन क्षेत्रमध्ये विशेषगरी उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र र पूर्वक्षेत्र नम्बर १ को एकाध ठाउँमा मात्र माधव समुहमा खुलेका केही नेता कार्यकर्ता रहेका छन । यसपटक माओवादी केन्द्रका धेरै नेता कार्यकर्ताले पनि एमालेमा पार्टी सदस्यता नवीकरण गरेको बरालले जानकारी दिनुभयो । रुपन्देही एमालेको साउन २९ गते जिल्ला कमिटी बैठक सम्पन्न भइसकेको छ । अब वडा र पालिकाको अधिवेशनको तयारीलाई तीब्रता दिइएको छ ।

विभागहरुको बाँडफाँड र जनर्गीय संगठनहरुको जिम्मेवारी बाँडफाँड गर्ने काम एमाले ब्युँतिएलगत्तै गरिएको थियो । बैठकले त्यसलाई नै निरन्तरता दिएको छ । पहिला माओवादीमा रहेर एमालेमै बसेकाहरुलाई पनि उचित जिम्मेवारी दिएर जिल्लामा पार्टीका कामहरु अगाडि बढाइएको छ ।पार्टीले तोकेको तालिकाअनुसार असोज ३ गते वडा र ९ गते पालिकाको अधिवेशन गर्न आफूहरु तयारी अवस्थामा रहेको सचिव बरालले जानकारी दिनुभयो ।