जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार ०९:०२

अघिल्ला सरकारले गरेका नियुक्ति खारेजीको माग गर्ने पत्रकार निलम्बनमा


रुपन्देही, साउन ३२ । । अघिल्ला सरकारले गरेका नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी निलम्वनमा पर्नुभएको छ । अध्यक्ष बसन्त गिरीले स्पष्टीकरण सोध्दै लुम्बिनी प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनको बर्खिलापमा भएको उल्लेख छ । महासंघका प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनुपर्ने, एमाले सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । अध्यक्ष गिरीले सचिव केसीको पत्रले सबै पत्रकारको शिर निहुरिएको बताउँदै दुई दिनभित्र जवाफ दिन निर्देशन गरिएको र केन्द्रीय समितिको निर्णय नआउँदासम्म पदीय जिम्मेवारीमा नरहने जनाएका छन् ।