काठमाडौं, साउन ३२ । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति असरफ गनी देश छोड्नुभएको छ । अहिलेसम्म उहाँ कुन देशमा जानुभयो भन्ने बारे एकिन रिपोर्टहरु आएका छैनन् ।अधिकांशले गनी उज्बेकिस्तान गएको हुन सक्ने अनुमान गरेका छन् । उहाँ आफैंले पनि एक फेसबुक पोस्टमा आफूले देश छाडेको बताउनुभएको हो । तर, उहाँले आफू कहाँ गएको हो भन्ने बारे चाहिँ केही बताउनुभएको छैन । गनीले देश छाडेपछि र तालिबानले पूरै देश कब्जा गरेपछि नेपाली नेताहरुले पनि यस बारे विभिन्न प्रतिक्रिया दिएका छन् । तिनैमध्ये एक हुनुहुन्छ , नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा ।
बाँस्कोटाले सोमबार विहान एक ट्विट गर्दै यो प्रसंगलाई नेपालको राजनीतिसँग पनि तुलना गर्नुभएको छ । उहाले विदेशीले अनेक स्वार्थ पूरा गर्न कमजोर देशलाई भुँवरीमा हालिदिन सक्ने बताउँदै काम सकिएपछि आफ्नै पपेटलाई पनि उद्धार गर्न नसक्ने उल्लेख गर्नुभएको छ ।
विभिन्न नेताहरुको उदाहरण दिँदै बाँस्कोटाले गनीको प्रसंग पनि निकाल्नुभएको छ । अनि अन्तिममा उहाँले जोड्नुभएको छ – हाम्रो देशले दुःख पाए पनि कम्फरटेवलतिर लाग्नु हुन्न ।
केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब भारतका लागि कम्फर्टेबल सरकार बन्ने अभिव्यक्ति दिएको चर्चा आएको थियो । बाँस्कोटाले यो ट्विटमा यही प्रसंगलाई जोडेका हुन् ।













प्रतिक्रिया दिनुहोस्