जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १८:३०

‘बा’ बन्न धेरै गाह्रो रहेछ भन्ने तथ्य एक महिनामै पुष्टि भयो : सांसद जिसी


काठमाडौं, साउन ३२ । एमाले सांसद मनकुमारी जिसीले ’बा’ बन्न धेरै गाह्रो रहेछ भन्ने कुरा वर्तमान सरकारका घटनाक्रमले पुष्टि गरेको ठोकुवा गर्नुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद जिसीले एक महिनामै सरकारले बा बन्न गाह्रो रहेको तथ्यलाई पुष्टि गरेको बताउनु भएको हो ।

‘केपी शर्मा ओलीलाई ‘बा’ भनियो भनेर धेरैले टिकाटिप्पणी गर्नुहुन्थ्यो, ‘बा’ बन्नका लागि धेरै गाह्रो रहेछ भन्ने कुरा यो एक महिनाले देखाएको छ,’ एमाले सांसद जिसीले भन्नुभयो । केपी ओली सरकारले विगतमा ‘बा’ बनेर आपतमा परेका नेपालीको २४ घण्टाभित्र उद्धार गरेको स्मरण गर्दै मनकुमारीले जनताको सेवामा बा बन्न गाह्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७३ असार ६ मा काबुलमा भएको आत्मघाती बम विस्फोटमा परेका नेपालीको उद्धारका लागि अर्काे दिन बिहानै जहाज पठाएर २४ घण्टाभित्र उद्धार गरेर ल्याइयो, कोभिड महामारीका कारण चीनको बुहानमा अलपत्र परेका नेपालीलाई ल्याइयो, आज अफगानिस्तानमा नेपालीहरु रोइरहेका बेला सरकार किन चुप छ ।’