काठमाडौं, ३२ साउन । अफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदाररकर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।‘हामीलाई तुरुन्तै होटल छोड्नुपर्ने तालिवानको आदेश छ । उनीहरु होटलमा छन्’, एक नेपाली सुरक्षा गार्डले भन्नुभयो ,‘हामी विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएका छौं । अब यहाँबाट विमानस्थल जाने तरखरमा छौं ।’तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उहाँले बताउनुभयो ।
होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उहाँहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बस्नुभएको थियो । ‘हिजो हामीलाई क्याम्पबाट निस्कन पनि दुई घण्टाको समय दिएका थिए । अमेरिकी सेनाले दूतावास रहेका क्षेत्रबाट हेलिकप्टरबाट नै साथीहरुलाई विमानस्थल लगेर राखेको थियो , तोकिएको समयमा हेलिकप्टरबाट मात्रै जान सम्भव नभएपछि हामी गाडीबाट होटलमा आएर बसेका थियौं,’ उहाँ भन्नुभयो , ‘हामीमाथि कुनै नराम्रो दुर्व्यवहार गरिएको छैन ।’अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।













प्रतिक्रिया दिनुहोस्