जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार ०७:५४

अध्यादेशमार्फत माधव समुह खरिद गर्ने सरकारी हर्कतबिरुद्ध प्रतिकारमा उत्रदै एमाले, यस्तो छ रणनीति


काठमाडौं, भदौं १ । प्मुख प्रतिपक्षी दल एमालेले अध्यादेश ल्याएर माधव नेपाल समूहलाई खरिद गर्दै सत्ता जोगाउने सरकारी हर्कतविरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संघीय संसद्‍को चालु अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमालेले प्रतिकारको रणनीति अघि बढाएको छ ।

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र पार्टीलाई विभाजित गर्ने षड्यन्त्र पूरा हुन नदिने एमालेले जनाएको छ । एमाले फुटाउने षड्यन्त्रविरुद्ध एकजुट हुन अध्यक्ष केपी शर्मा ओलीले पाँच बँदे अपिल गर्नुभएको छ । एकताका लागि आव्हान गर्दै अध्यक्ष ओलीले सोमबार राती ५ बुँदे अपिल जारी गर्नुभएको हो । अध्यादेश ल्याएर एमाले फुटाउने र माधव समूहका केही नेतालाई किनेर सत्ता टिकाउने खेलमा सरकार लागेको छ । माधव समूहलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ ।

एमाले एक भयो भने अल्पमतमा परिने डरका कारण सरकारले माधव समुहका केही सांसद्लाई किन्न अर्थात मन्त्री बनाउन तयारी थालेको छ । त्यसकै लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हो । माधव नेपालको समूहका २२ सांसद्कै सहयोगले देउवा प्रधानमन्त्री बन्नुभएको थियो । यद्यपि माधव समुहको ठूलो हिस्सा भने सरकारमा नगई एमालेमै बस्ने पक्षमा छ । ओलीलाई परमादेशबाट हटाएर बनेको गठबन्धन सरकारले आफ्नो सत्ता टिकाउन र ओली नेतृत्वको पार्टी फुटाउन अध्यादेशको सहारा लिन लागेको हो ।

एमाले विभाजित गरेर कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने गम्भीर षड्यन्त्र भइरहेको एमालेको ठहर छ । हठात् अधिवेशन अन्त्य लगायत सरकारका जनविरोधी निर्णय विरुद्ध रणनीति बनाउन एमालेले आज स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । भावी रणनीति तय गर्न एमालेले आज ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ । सोमवार साँझ बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले आजका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो ।