काठमाडौं, भदौ १ । नेकपा एमालेका सांसद नवराज सिलवालले आफू संस्थापन पक्षमै रहेको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपालतिर लागेको समाचारको खण्डन गर्दै सिलवालले त्यसलाई प्रोपोगाण्डा भन्नुभएको हो । ‘म संस्थापनतिर नै छु, कतै लागेको छैन,’सिलवालले भन्नुभयो,‘बजारमा म दायाँ बायाँ लागें भनेर हल्ला चलाइएको रहेछ, त्यो सही होइन ।’
उहाँले सत्ता गठबन्धनले आफूलाई प्रधानमन्त्री नै दिन्छु भनेपनि आफूले एमालेको संस्थापन पक्ष नछोड्ने बताउनुभयो । ‘गठबन्धनले प्रधानमन्त्री नै दिन्छु भनेपनि म लोक्तान्त्रिक मूल्य र मान्यतासँग सम्झौता गरेर त्यता जान्न,’उहाँले थप्नुभयो । यसअघि सिलवाल नेता नेपालले बोलाएको बैठकमा सहभागी भएको समाचार सञ्चारमाध्यममा बाहिरिएको थियो ।
सिलवालले आफूहरू एकताको पक्षमा जुट्न आग्रह गर्दै नेता नेपालसमक्ष गएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो,‘हामी केही सांसदहरू कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र म पार्टी विभाजन तिर नलाग्नुहोस भन्न गएका थियौं । त्यसैलाई समातेर उता गए भन्दै प्रचार भएछ ।’ पूर्व प्रहरी अधिकृतसमेत रहनुभएको उहाँ २०७४ सालको आमनिर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ बाट बिजयी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्