काठमाडौं, भदौ १ । एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले अध्यादेशले देशलाई अस्थिरता र अराजकता तर्फ लैजाने बताउनु भएको छ । उहाँले यो अध्यादेश विना र्शत फिर्ता लिनु पर्ने बताउनुभएको हो ।
आमाको निधनले शोकमा बसिरहेका भट्टराईले मंगलबार सामाजिक सञ्जालमार्फत अध्यादेश जारी गर्नु मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।
राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र हो, उहाँले लेख्नुभएको छ यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ।विगतको फोहोरी राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता भएको उनले उल्लेख गरेका छन्। आजका दिनमा प्रम शेरबहादुर देउवाले यो अध्यादेश विनाशर्त फिर्ता लिनुपर्दछ। कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ, नेता भट्टराईले लेख्नुभएको छ । आमाको दुस्खद् निधनको शोकमा बसिरहेका बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदानहुँदै पनि आजको संगीन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनुहोला, उहाँले थप लेख्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्