काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अध्यादेशको प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनु भएको छ । बिगतमा केपी ओली नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको बिरोध गरेको भन्दै थापाले सार्वजनिक माफी माग्नु पर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको आलोचना भइरहेका बेला सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले अध्यादेश गलत भएको प्रतिक्रिया जनाएका जनाउनुभएको हो । थापाले ट्विटरमा लेख्नुभएको छ , ‘संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ । सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’
कांग्रेसभित्रै केन्द्रीय सदस्य डा. शेखर कोइराला, युवा नेता प्रदीप पौडेल लगायतले समेत अध्यादेशको विरोध गर्नुभएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल विभाजन गर्न सजिलो हुने गरी देउवा सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्