२ असार २०७६, सोमबार ००:००

कर्णाली प्रदेशमा छोरी जन्मिए खातामै एक हजार, २० वर्षसम्म महिनाको ५००


वीरेन्द्रनगर, असार २

कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ ।

‘छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैंकमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना रु ५०० का दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ’–बजेट प्रस्तुत् गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने–‘छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु ।यस कार्यका लागि रु ७ करोड बजेट छुट्याएको छु ।’

यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहनस्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ । स्वास्थ्य संस्थामा आइ बच्चा जन्माउने आमालाई पोषणवापत दुई हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसाजस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समानरुपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सन्चालन गर्ने भएको छ । त्यसैगरी, राउटे, बादीलगायतका लोपोन्मुख तथा अल्पसंख्यक सिमान्तकृत वर्गरसमुदायको संरक्षणका लागि आयमूलक कार्यक्रमको व्यवस्था गरिने मन्त्री ज्वालाले बताउनुभयो ।

आव २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालूतर्फ रु १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्याइएको छ ।