जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार ११:०९

प्रदेश २ मा डा. राजेशसँगै पृथ्वीनारायण पनि हटाइए


काठमाडौँ, ३ भदौ । डा. राजेश झा अहिराजलाई विस्थापित गरेर प्रदेश प्रमुख बन्न पुगेका हरिशङ्कर मिश्रले पद सम्हाल्न कार्यकक्षमा प्रवेश गर्दागर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर हटाउनुभएको छ । सरकार परिवर्तन हुने बित्तिकै क्षेत्रियतावादी नेता उपेन्द्र यादवले पृथ्वीनारायण शाहको तस्बिरसहित राजेशलाई हटाइने बताउनुभएको थियो ।

विमलेन्द्र निधि, उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतलाई प्रदेश प्रमुख राजेश झाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेकोमा सुरुदेखि नै रोष थियो । डा. झा प्रदेश २ को प्रमुख भएर गएलगत्तै उहाँले आफ्नो कार्यकक्षमा बडामहाराज पृथ्वीनारायण शाहको तस्विर राख्नुभएको थियो । उहाँले अन्य ६ वटा प्रदेश प्रमुखहरूलाई अलग–अलग भेटेर पृथ्वीनारायण शाहको तस्बिर उपहार दिनुभएको थियो । यस्तै, डा. झाले प्रदेश सरकार र सरकारको काम संविधानअनुकुल नरहेको भन्दै सरकारलाई समावेसी बनाउन दबाब समेत दिनुभएको थियो । यस सम्बन्धमा परेको मुद्दा उच्च अदालतमा विचाराधीन रहेको छ । स्थानीय मन्त्रीहरूलाई नेपाली भाषामै शपथ लिन पनि झाले बाध्य पार्नुभएको थियो ।

उहाँका सम्पूर्ण काम कारवाही राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा भएकोले सन्देहास्पद भूमिकाका मधेशी नेताहरूमा छटपटी बढाएको थियो ।
झासँगै पृथ्वीनारायण शाहलाई जनकपुरबाट बिदा गर्न पाएकोमा उपेन्द्र यादव, विमलेन्द्र र बाबुरामसहितका ब्यक्तिहरू निकै प्रशन्न भएको बुझिएको छ।

झाको बहिर्गमनले सो प्रदेशका सर्वसाधारण नागरिकलाई भने निराश र चिन्तित बनाएको पाइएको छ ।निवर्तमान प्रदेशप्रमुख ड झाले सेवानिवृत्तिपछि सरकारले दिने कुनै सेवा सुरक्षा नलिने र जनताको सुरक्षा नै ज्यादा महत्वपूर्ण हुने भएको भन्दै सूरक्षाकर्मीको सुविधा पनि नलिने घोषणा गर्नुभएको छ ।