जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १४:३७

सञ्चार उद्यमी महेन्द्र शेरचनको निधनले एमाले अध्यक्ष ओली दुःखी


काठमाडौं, भदौ ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी तथा संबिधानसभा सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ । कोभिड संक्रमणबाट संबिधानसभा सदस्य तथा राजधानी दैनिकका अध्यक्ष एवं प्रबन्ध सञ्चालक शेरचनको बुधवार साँझ निधन भएको हो । शेरचनको निधनले आफू निकै दुःखी भएको अध्यक्ष ओलीले शोक बक्तब्यमार्फत जनाउनु भएको छ ।

‘प्रतिष्ठित सञ्चार उद्यमी एवं संविधानसभाका सदस्य महेन्द्र शेरचनको असामयिक निधन भएको सुनेर दुःखी भएको छु,’ एमाले अध्यक्ष ओलीले शोक बक्तब्यमा भन्नुभएको छ, ‘राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी बे्राडसिट दैनिकको व्यवसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो । पछिल्लो समय सञ्चार उद्यमीहरुको संगठन मिडिया एलाइन्स र नेपाल सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको थियो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बक्तब्यमा स्वर्गीय शेरचनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । ‘कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीको बक्तब्यमा भनिएको छ ।

शेचरनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि स्वास्थ्य मापदण्डसहित एमाले महासचिव इश्वर पोखरेल र प्रवक्ता प्रदीप ज्ञवालीले पशुपति आर्यघाटमै पुगेर पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण थियो ।