काठमाडौं, भदौ ४ । बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।
पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । पीडितले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल विरुद्ध उजुरी दर्ता गरिएको थियो । प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाबाट पक्राउ अनुमति लिएर भट्टराई, कार्की र घिमिरेलाई पक्राउ गरेको जनाएको छ । मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो । पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो ।
पीडितले भने–‘हाम्रो जीवन वर्वाद गरिदियो’
भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।
सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताउनुभयो । उहाँले भन्नुभयो –‘उनीहरूले कुनै एउटा होटलमा गएर खाजा खाए । त्यहाँ केही युटुवरहरु अनधिकृत रूपमा प्रवेश गरेर उनीहरूले व्यक्तिगत जिवन जिइरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बेइज्जत गरिदिए । महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा छन् । उनीहरूले त्यहाँ आपत्तिजनक क्रियाकलाप पनि गरेका थिएनन् । एकजना महिला अपाङ्ग पनि छिन् । सँगै खाजा खाएको विषयलाई अतिरञ्जित गरिदियो भन्ने महिलाहरूको भनाइ छ । उहाँहरूले होटल सञ्चालकसहित अभद्र मुद्दा ल्याउनुभएको छ । उनीहरूमध्ये २ जनाले टिकटकमा भिडियो हालेर बेइज्जत गरेको पाइएको छ ।’
राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत रहेका युट्युबर खगेन्द्र घिमिरेसहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्