जनता टाइम्स

५ भाद्र २०७८, शनिबार १५:५७

भक्तपुरमा नयाँ मोडलको विकास प्रारम्भ : महेश बस्नेत


भक्तपुर, भदौ ५ । नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड महामारीको बेला जनप्रतिनिधिको भूमिका थप प्रभावकारी हुनुपर्ने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका–४ मा निर्माण भएको राधाकृष्ण मन्दिरको आज आयोजित उद्घाटन कार्यक्रमा बोल्दै बस्नेतले सामान्य समय भन्दा जनप्रतिनिधिले कोभिडको बेलामा विशेष खट्नुपर्ने बताउनु एको हो ।

भक्तपुर जिल्लाका जनप्रतिनिधिको क्रियाशीलताको कारण धेरै काम भएको उहाँले बताउनुभयो । भक्तपुरमा भूकम्पको कारण क्षति भएका धेरै संरचना निर्माण भइसकेका र केही निर्माणको अन्तिम चरणमा पुगेका उहाँले बताउनुभयो । जिल्लाका सबै विद्यालयको पुननिर्माणको काम सकिइसकेको उहाँले जानकारी दिनुभयो । ‘अब एउटा पनि विद्यालय बन्न बाँकी छैन, सबै बनाइसकेका छौँ’, बस्नेतले भन्नुभयो ।

बस्नेतले भक्तपुरमा नयाँ मोडलको विकास प्रारम्भ गरिएको पनि बताउनुभयो । सामान्यतया विकासले विनास ल्याउने मान्यता भए पनि भक्तपुरमा त्यसो हुन नदिएको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले विकासमा विनास आउन दिएका छैनौँ, विकास गर्दा क्षति भएकाको ठाउँमा क्षतिपूर्तिको व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नुभयो । विभिन्न सडक करिडोर निर्माणको कारण भक्तपुरमा विकासले फड्को मारेको बस्नेतले बताउनुभयो ।