पोखरा, भदौ ६ । मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित हुनुभएको छ । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व. कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारजनले स्थापना गरेको अक्षयकोषवाट यो बर्ष कौसी खेती मार्फत घिमिरेलाई नगद सहित सम्मानपत्र, दोसल्ला तथा मालाले सम्मान गरिएको हो । मानवीय सेवा अभियानका अध्यक्ष अभियन्ता तथा पत्रकार सुष्मा पौडेलले उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो ।
हजुरबुबा कुलचन्द्र बास्तोलाले कृषि क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै स्थापना गरिएको कृषि सम्मानवाट कौसी खेती तथा जनजागरणमा योगदान पुर्याउने घिमिरेलाई सम्मान गरिएको बताउनुभयो । आमा नन्दकली बास्तोला तथा छोरा छोरीहरु लगायतको परिवारले बुवाले कृषि श्रेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान तथा सहयोग कार्यक्रम मानवीय सेवा अभियान मार्फत सञ्चालन गरिएको बताउनुभयो । त्यस्तै स्व. बास्तोलाको बार्षिक पुन्य तिथीमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको छ ।

सम्मानित सावित्री घिमिरेले घरमै आएर आफुले गरेको मेहनतको सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो । घिमिरेले आमामी दिनमा अझ सक्रिय भएर खेतीमा लाग्ने उत्प्रेरणा मिलेको सुनाउनभयो । उहाँले सम्मान मार्फत पाएको रकम बरावर थप गरि मानवीय सेवा अभियानलाई नै हस्तान्तरण गर्नुभएको छ । त्यस्तै दिपकराज घिमिरेले आफ्नो जिवनसाथीलार्इ सम्मान गरेकोमा खुसी व्यक्त गर्दै कौसी खेतीले अर्गानिक तरकारी खान पाइने तथा शारीरिक व्यायाम समेत हुने बताउनुभयो ।
कार्यक्रममा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष श्याम श्रेष्ठ, नागबेली आमा समुहका संस्थापक अध्यक्ष गिता पौडेललगायतले आफ्नो भनाई राख्नुभएको थियो । अभियानका उपाध्यक्ष मेघमान श्रेष्ठले यस अभियानले गरेका गतिविधिबारे जानकारी तथा कार्यक्रम संयोजक पिडी सिग्देलले सामाजिक व्यक्तित्व स्व.बास्तोलाले समाजमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा दिपा पौडेल, लक्ष्मी थापालगायतको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन महासचिव सावित्री शर्माले गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्