जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १७:०१

लुम्बिनीका सभामुखबारे एमालेले लियो कठोर निर्णय


बुटवल, भदौ ६ । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीले पार्टीको कार्यकर्ताको जस्तो व्यवहार गरेको भन्दै कडा आपत्ति जनाएको छ । एमालेले आज पत्रकार सम्मेलन गरी सभामुख घर्ती माओवादी कार्यकर्ता नै बनेर प्रस्तुत भएको भन्दै कडा आपत्ति जनाएको हो ।

सभामुख घर्तीले पद तथा मर्यादा अनुकूलको आचरण नगरी पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय व्यवहार गरी संसदीय व्यवस्थाको मूल्यमान्यता प्रतिकूल कार्य गरेको ठहर पनि एमालेले गरेको छ । एमालेले सांसद विमलाकुमारी खत्री वली र अजय शाहीको विषयमा सभामुखले आफैँ न्यायाधीश बनेर गरेको फैसलाप्रति कडा आपत्ति जनाएको छ । एमालेले अव सभामुखको कुर्सीमा घर्ती रहनु उचित नहुने भन्दै राजीनामा समेत मागेको छ ।

आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदद्वय अजश शाही र विमला वलीलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको हो । एमालेले सभामुखले भीडन्त निम्त्याएको भन्दै सभामुखलाई ‘संसदबाटै ठेगान लगाउने’ चेतावनीसमेत दिएको छ । एमालेले कारवाहीका लागि पठाएको पत्रको जवाफमा प्रदेशसभाले ‘कारवाही गर्न नमिल्ने’ भनेपछि आज पत्रकार सम्मेलन गरी विवादित व्यक्ति संवैधानिक पदमा बस्न नमिल्ने एमालेले जनाएको छ ।

‘सभामुखजस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पदअनुकुल आचरण नगर्नु आपत्तिजनक छ,’ पत्रकार सम्मेलनमा पूर्वमन्त्री बैजनाथ चौधरीले भन्नुभयो । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पदअनुकुलको आचरण सभामुखले देखाउन नसकेको भन्दै एमाले कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।