जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १७:३३

पोथी बास्न हुँदैन, आईमाइ हाँस्न हुँदैन


प्रकाश भुजेल, पोखरा–३१, कास्की

देशले प्रथम महिला राष्ट्रपति पायो
बषौंदेखि भूमिगत राजनीति गरेकी
परिवार भुलेर संघर्षको मैदानमा होमिएकी
सडकमा हानिएको लाठीले चिन्दैनथ्यो महिला
दमन र गीरफ्तारीमा गरिएन लैङ्गिक विभेद
जेलमा सँगै कोचिदाको ‘जय नेपाल’ होस वा
अस्पतालको शैय्यामा रहदाको कमरेडले होस
सजिलै भनिदिन्छन क. मदनको व्याज खाईरहिछे
किनकी विद्या भण्डारी पनी एक महिला हो
पोथी बास्न हुँदैन, आईमाइ हाँस्न हुँदैन ।

न्याय सधै सबैका लागि वरावर हुन्छ
तर लैङ्गिक विभेदमा त्यस्तो नदेखिएको वेला
न्यायालयले पायो एक निडर शाहसी महिला नेतृत्व
कत्ति विचलित नभई न्यायमा कुशलता देखाएको बेला
सडक, सदन अनि चौतारीमा छलफल चलाईयो
भनियो, त्यस्को तेत्रो आँट हामीले भनेको नमान्ने ?
अनि लगाईयो महाअभियोग र गर्न खोजियो अपमान
किनकी शुसिला कार्की पनि एक महिला हो
पोथी बास्न हुँदैन, आईमाइ हाँस्न हुदैन ।

शामन्ती निरंकुश शासन व्यबस्था रहेको बेला
सबै खाले उत्पीडनको विरुद्द एक युद्द चल्यो
कसैले ‘जनयुद्द’ भने कसैले ‘धनयुद्द’ भने
त्यही युद्दको मैदानमा थिईन एक कमाण्डर
मासिक रजस्वला हुँदा आराम चाहने उनी
दिनहुँ रगतको होली खेल्दै युद्दको नेतृत्व गरिरहिन
मृत्युको तरवार टाउकोमा झुन्ड्याइएको वेला
गिरफ्तार गरेर जेल कोचिएको वेला
ती कठोर बुटहरुलाई पन्छाउदै अदम्य शाहस बटुलेर
जमीन फोडेर जेल तोड्न सफल उनलाई
शान्ति प्रकृयापछि गुमनाम बनाईयो
किनकी उमा भुजेल पनि एक महिला हो
पोथी बास्न हुँदैन, आईमाइ हाँस्न हुदैन ।

दलहरु विभेद विरुद्द संघर्षमा थिए
एमालेले त्यसको नेतृत्व गरेको वेला
विभेदको एक स्वरुप थियो कमलरी त्यही थिइन एक किशोरी
जो बिद्राहको अदम्य शाहस वोकेर पनि
अठारौ बर्ष शाहुकोमा भाडा माँझिरहेथिन
नेतृत्वको हिसावले क. माधवले हुनुपर्छ
शाहुको घरबाट निकालेर राजनीतीमा होमेकै हो
तर आज उनैलाई न बोल्न छुट छ, न लेख्न छुट
विचारलाई बन्धक बनाएर फेरी कमलरी राख्न खोजिदैछ
किनकि शान्ता चौधरी पनि एक महिला हो
पोथी बास्न हुँदैन, आईमाइ हाँस्न हुँदैन ।

(अनेरास्वबियू केन्द्रीय सचिवालय सदस्य भुजेल, पोखरा–३१, कास्की निवासी हुनुहुन्छ : सं)