जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १९:२१

बायोपिक किन बन्दैनन ? के छ ओलीको जीवनीमा आधारित ‘रातो सूर्य’ को अवस्था ?


काठमाडौं, भदौ ६ । बेलाबखतमा नेपाली चलचित्र (फिल्म) ले राजनीतिक विषयवस्तुलाई उठान गर्ने कोसिस गरिरहेकै हुन्छ । छिमेकी मुलक भारतमा जनवरी २६, अगस्ट १५ लाई लक्षित गर्दै योद्धाको कथालाई देखाउने गरिन्छ । यसवर्ष पनि भारतमा अगस्ट १५ लक्षित विक्रम वात्राको कथामा ’शेरशाह’, भुजमा भारतीय सेनाले पाएको सफलताको कथामा ’भुज’ द प्राइड अफ इन्डिया’ र भारतको प्लेन अपहरणको कथामा ’बेल बटम’ निर्माण भएर प्रदर्शन भएका छन् ।

यीमध्ये बेल बटममा फिल्मी मसला हालिएको छ भने शेरशाह र भुज लगभग घटनामै केन्द्रित छ । भुजमा तीन सय महिलाले बनाएको रन वे र १८ सय पाकिस्तानी सैनिकमाथि प्राप्त गरेको विजयसँगै क्याप्टेन विक्रमले आफूलाई शहिद बनाउँदै सीमाबाट भगाएको वीरताको कथा चर्चित हुँदैछ । तर, नेपालीले आफ्नो महत्वपूर्ण दिनमा यस्ता कुनै कथालाई देख्न पाएका छैनन् । लोकतन्त्र दिवस, गणतन्त्र दिवस होस् या आफूद्वारा चुनिएका प्रतिनिधिले लेखेको संविधान दिवस, यस्ता खास दिनमा पनि नेपाली मेकरले वीरताको कथा देखाउने आँट गर्न सकेका छैनन् । यसमा हाम्रो सानो बजार पनि कारक हुन् सक्छ, किनकी इतिहासको कथा देखाउन खर्च पनि उत्तिकै हुने गर्छ ।

यद्यपि बेलाबेलामा फिल्म बन्ने घोषणा भने हुने गरेका नै छन् । नालापानीको कथामा आधारित फिल्म ’नालापानी’ छायांकन सकेर पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको छ भने झन्डै पाँच वर्ष अगाडि घोषणा भएको ’रातो सूर्य’ अड्किएको छ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि रहेर निर्माण हुने भनेर निकै चर्चा भएको फिल्म अझैसम्म बन्न सकेको छैन ।

विक्रम संवत २०७३ साल मंसिर २९ गते काठमाडौँस्थित अर्याल होटलमा अध्यक्ष ओलीकै प्रमुख आतिथ्यतामा घोषणा भएको फिल्मलाई दीपेन्द्रप्रसाद दाहालले निर्देशन गर्ने जनाइएको थियो । ‘रातो सूर्य’ नाम राखिएको फिल्ममा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने जनाइएको थियो । फिल्ममा ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने र ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने बताइएको थियो ।

ओली स्वयं कार्यक्रममा उपस्थित हुनुले फिल्म बन्ने कुरामा मात्र होइन, उहाँले अभिनय गर्ने चर्चालाईसमेत सत्य बनाइरहेको थियो । यद्यपि, त्यसपछि फिल्म के भइरहेको छ, केही कुनै खबर बाहिर आएको छैन । ओलीको जीवनीमा मात्र होइन, मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारित रहेर निर्माण हुने चर्चा पनि भयो । ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा र ५० प्रतिशत फिल्मी कथा जोडेर निर्माण हुने फिल्म घोषणा कार्यक्रम पनि भयो । विक्रम संवत् २०७६ सालको साउन महिनामा घोषणा भएको फिल्ममा डाक्टर राउतको भूमिका भोजपुरी कलाकार प्रदेशी शाहले निर्वाह गर्ने समेत जनाइयो ।

विजेता गिरीको प्रस्तुति रहने फिल्मलाई सन्तोष साहले निर्देशन गर्ने बताइए पनि कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडिसम्म पनि फिल्मको गतिविधि अगाडि बढेको थिएन । त्यसो त नेपालमा बायोपिक भनौं वा सत्य घटनामा आधिरित रहेर निर्माण भएका अधिकांस फिल्मले दर्शकको अपेक्षामा आफूलाई उतार्न नसकेको गुनासो सुन्ने गरिन्छ ।

प्रायः फिल्म कमशल हुने गरेको प्रतिक्रिया दर्शकले दिने गरेका छन् । साथै, लगानीकर्ता पाउन मुस्किल हुनुका साथै बजारबाट रिटर्न नआउने भएकाले नेपालमा त्यस किसिमका फिल्म नगन्य मात्रामा निर्माण हुने गर्छन् । न्यूज कारखाना