जनता टाइम्स

६ भदौ २०७८, आइतबार २१:२३

भारतीयसंग भेटघाट तिव्र बनाउदै देउवा : भाजपा विदेश विभाग प्रमुखसंग बालुवाटारमा भेटवार्ता


काठमाडौं, भदौ ६ ।   भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले काठमाडौं आउनुभएको छ । चारदिने अनौपचारिक भ्रमणका क्रममा उहाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको उहाँनिकट स्रोतले जानकारी दिएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आउने सबैभन्दा उच्चस्तरीय नेता हुनुहुन्छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाइवालेले पनि देउवालाई टेलिफोन गर्नुभएको थियो । केही महिनाअघि एमाले नेता विष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवाले देउवासँग भेटवार्ता गर्नुभएको थियो । चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र विशेष गरी नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तारबारे छलफल भएको छ । भारतीय नेता चौथाइवालेले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाउनु पूर्व छानविन समितिकी सदस्य भारत जानु र भारतिय नेता नेपाल आउनुलाई रहस्यमय रुपमा हेरिएको छ ।