गुल्मी, भदौ ७ । गत साउन २७ गते इस्मा गाउँपालिका ४ दोहलीका रामबहादुर गन्धर्बको घरमा चट्याङ पर्यो । रामबहादुर घाइते भए । ११ वर्षीय छोरा राहुल गन्धर्बलाई गुमाए । मानवीय क्षतिको पीडा गहिरो हुन्छ । त्यसैले राहुलका बाबा–आमा र दिदीबहिनीका आँखा अझै ओभाएका छैनन् । ‘मलाई छोडेर दुःखले हुर्काएको छोरा दैवले खोस्यो । पीडा कसरी भुलौँ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि पानी परे आधा मन हुन्छ ।’ सोही दिन रामबहादुर र छोरा राहुल घरमा सँगै थिए । पानीसँगै एक्कासि परेको चट्याङले बाबुछोरासँगै ढले । केहीबेरमा छिमेकी र आफन्तले अचेत बाबुछोरालाई अस्पताल पुर्याए ।
अन्तिममा राहुल घर नफर्किने नै भए । बुबाको उपचार भयो । उनले गुल्मी अस्पताल तम्घासदेखि लुम्बिनी मेडिकल कलेजसम्म पुगेर उपचार गरे । उपचारपछि उहाँ अहिले घरमा हुनुहुन्छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा राहत लिएर गन्दर्भको घरमै पुग्नुभयो । कच्ची घर । सानो छोरासहितकी श्रीमती, दुई छोरीसहित उभिएका रामबहादुरको परिवारमा राहुल मात्रै थिएनन् । सिडिओ बोल्न थाल्नुभयो, परिवार रुन थाले। बुबा रामबहादुर रुनुभयो, छोरीले नरुन आग्रह गरिन् । जब छोरी पनि रुन थालिन्, त्यहाँ पुगेका सबैको आँखा रसाए ।
‘गरिब विपन्नमाथि नै दैव लाग्यो । दुःखमा समवेदना बाँड्न राहत लिएर आएका हौँ,’ शर्माले भन्नुभयो, ‘मन थामेर विपद्को सामना गर्नुको विकल्प छैन् ।’ प्रमुख जिल्ला अधिकारी शर्माकाअनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट मृतक परिवारलाई दुई लाख र उपचारको लागि यातयात खर्चवापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ । उहाँले घाइते परिवारको उपचार खर्चको लागि वडा कार्यालय र प्रहरी प्रतिवेदन माग गरेर प्रदेशमा पठाउने काम भइरहेको बताउनु भयो ।
विपन्न परिवार नै प्राकृतिक प्रकोपबाट पीडित भएको अवस्थामा राहतको लागि उल्टै खर्च गरेर प्रशासन पुग्नुपर्ने बाध्यतालाई आफूले सकेसम्म अन्त्य गर्न खोजेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । उहाँले अरु परिवारमा पनि सकेसम्म आफू पुग्ने बताउनु भयो । त्यस्तै सोही अवसरमा कम्बल र खाद्य सामग्री पनि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
मृतक परिवारलाई २० हजार रुपैयाँ र घाइते परिवारको उपचार खर्चमा सहजीकरण गर्ने इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयको टोलीसहित पीडित परिवारकोमा पुगेका बिष्टले शोकलाई शक्तिमा बदलेर नयाँ जीवनयापनमा लाग्न परिवारलाई आग्रह गर्नुभयो ।
गत साउन २७ गते नै चट्याङको कारण मालिका गाउँपालिका २ पाटाखर्ककी २८ वर्षीया कमला पोर्तेलले ज्यान गुमाउनु भयो । विपन्नको जीवन निकै कष्टपूर्ण छ । त्यो पनि विकट बस्तीहरुमा अझै गाह्रो छ । त्यो दिन पोर्तेलले मेलाको काम गरेर घर आउनु भएको थियो । साँझ साना छोराछोरीहरुलाई खाना पकाउन थालेको बेला एक्कासि चट्याङ पर्यो । बच्ने उपाय भएन । पोर्तेलको ज्यान गयो । भोका छोराछोरीलाई खुवाउनसमेत पाउनु भएन । उहाँहुनका श्रीमान् यमबहादुर पोर्तेल मुग्लान हुनुुहुन्छ । आमाको मृत्युपछि घरमा तीन छोराछोरी अलपत्र छन् । सोही चट्याङले ज्यान गुमाउने र गम्भीर घाइते सबै दलित परिवारका छन् ।
गत वर्ष रुरुक्षेत्र गाउँपालिका ५ का राजु माझीको घरमा ढुङ्गा खस्यो । श्रीमती विनिता माझीसहित तीन छोराछोरीले ज्यान गुमाए । परिवार नै गुमाएपछि राजु घर न घाटको बने । केही समयअघि कालिगण्डकी गाउँपालिका–२ अर्वेनीस्थित सुनार गाउँका पाँच घरगोठ आगलागीका कारण खरानी बने ।













प्रतिक्रिया दिनुहोस्