जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १५:४६

बालकोट सहमतिलगत्तै एमालेले बोलायो स्थायी कमिटी बैठक, यी हुन माधवबिहीन बैठकका एजेण्डा


काठमाडौं, भदौ ७ । माधवकुमार नेपालले पार्टी छाडेर गएपछि नेकपा एमालेले असन्तुष्ट नेताकै सहमतिमा स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज भएको एकता पक्षधर नेताहरुसँगको छलफलमा सहमति जुटेपछि मंगलवार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मंगलवार ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेत गरी स्थायी कमिटी बैठक बोलाइएको जनाताटाइम्सलाई बताउनु भयो । अध्यक्ष ओली निवास बालकोटमा भएको सहमतिलगत्तै अध्यक्षको निर्देशनमा महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो । माधव नेपाल समुहमा रहेका तर एमाले बिभाजनको बिपक्षमा उभिएका नेताहरुसँग भएको अध्यक्ष ओलीसँगको छलफलमा महासचिव पोखरेलसमेत सहभागि हुनुहुन्थ्यो ।

छलफलमा बैठकबाटै १० बुँदे सहमति कार्यान्वयन गरेर जाने सहमति भएको थियो । आजको सहमतिसँगै एमालेमा माधव नेपालबाहेक नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारी पार्टीमै रहने अवस्था बनेको छ । सचिवालयमार्फत माधव समुहमा जाने जानकारी गराइए पनि ९ गतेको सनाखतमा बरिष्ठ नेता झलनाथ खनाल नआउने हुनुभएको छ ।

स्वास्थ्यको कारण खनाल नआएपछि सनाखत नहुने कानूनी आधार रहेको छ । यस्तै बामदेव गौतम पनि सरकारको नेतृत्व र कार्यबहाक अध्यक्ष पाए मात्रै माधव समुहमा जाने सर्त राख्नुभएको छ । आफ्नै समुहका कारण बामदेवको सो सर्त माधवले पूरा गर्ने अवस्था छैन ।